परियोजना

डोल्पो परियोजना

नेपाल सोसियल बिजनेसले डोल्पाको जुफाल फोक्सुण्डो पदमार्गमा हाल सञ्चालनमा रहेका होटल तथा लजहरुमध्ये केहीलाई पर्यावरणमैत्री रुपमा सञ्चालन गर्न लागेको छ । यसका लागि त्यहाँ सञ्चालित होटल तथा लजका सञ्चालकबाट आशयपत्र आह्वान गरी केहीलाई छनोट समेत गरिसकिएको छ । पर्यावरणमैत्री लजहरुको भौतिक पूर्वाधारको काम सुरु हुनै लागेको छ ।

दाङ होजियरी तथा गार्मेन्ट उद्योग

दाङको तुलसीपुरमा स्थापना गरिएको यस कम्पनीको मख्य उद्देश्य स्थानीय मुस्लिम, दलित जनजाति तथा मधेसी समुदायका महिलाहरुलाई रोजगारी दिएर उनीहरुको आय वृद्धि गरी आत्मनिर्भर बनाउनु हो । स्थानीय सरिता गुप्ता र उहाँका श्रीमान सन्तोष गुप्ताको अगुवाईमा यो कम्पनी सञ्चालन हुँदै आएको छ । स्कुले बालबालिकाका लागि विद्यालय पोशाक बेलैमा उत्पादन गरेर समयमै उपलव्ध गराउन यस कम्पनीले सहयोग पु¥याउँदै आएको छ ।

अजयमेरु ताम्राकार भाँडाबर्तन

स्थानीय ताम्राकार समुदायको संकटमा पर्दै गएको परम्परागत पेशाको जगेर्ना गरी उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो कम्पनीको स्थापना डडेलधुराको अमरगढीमा गरिएको छ । स्थानीय ताम्राकार समुदायका सीपयुक्त जनशक्तिलाई तामा लगायतका धातुहरु उपलव्ध गराउने र उनीहरुले निर्माण गरेको तयारी वस्तुको बजारीकरण कम्पनीले गर्दै आएको छ । स्थानीय चन्द्रे टोमाटोको सक्रियतामा यस कम्पनीको स्थापना भएको हो । लगानीको अभावमा सीप भएर पनि व्यवसायिक रुपले काम गर्न नपाएका कालिगढहरु र विदेशबाट आयात गरिएका महंगा तामाका भाँडा किन्न बाध्य सर्वसाधारणहरु यस परियोजनाबाट लाभान्वित भएका छन् ।

महालक्ष्मी झोला उद्योग

कैलालीको टीकापुरमा वातावरणमैत्री झोला उत्पादन गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गर्न लागिएको हो । पोलिथिन झोलाको प्रयोगले प्रदुषणमा वृद्धि हुनुका साथै माटोको उर्बरा शक्ति घट्ने भएकाले सोको न्यूनीकरण गर्ने उद्देश्यले यस्तो झोला उत्पादन गर्न लागिएको हो । नगरक्षेत्रमा पोलिथिन झोला प्रयोगमा रोक लगाउने अभ्यास थालिएकाले यस परियोजना टीकापुरमा पनि उपयुक्त हुने व्यवसायी बताउँछन् । स्थानीय सञ्चारकर्मी मात्रिका उपाध्यायसहितको सक्रियतामा सञ्चालित यस उद्योगले वातावरणमैत्री झोलाका अतिरिक्त स्कुल ब्याग तथा ल्यापटप ब्याग समेत उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

बगेश्वरी बहुउद्देश्यीय कृषि फार्म

बगेश्वरी बहुउद्देश्यीय कृषि फार्म सल्यान जिल्लाको कोटमौला गाविस वडा नं. ६ स्थित डाँगीगाउँमा स्थापना भएको छ । सुन्तला, अनार, कागती, निम्बुलगायत विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरी किसानलाई सहुलियत दरमा उपलव्ध गराई जिल्लालाई नै फलफूल खेतीमा आत्मनिर्भर बनाउने यस कम्पनीको लक्ष्य छ । करिब ७ सय डाँगी समुदायको घरपरिवार रहेको यस गाउँका मानिसहरुको मुख्य आयस्रोत फलफूल तथा अदुवा खेती भएपनि नर्सरीको अभावमा किसानहरुलाई समस्या भएको थियो । सोही समस्या समाधानका लागि स्थानीय यज्ञबहादुर डाँगीको सक्रियतामा यो कम्पनी स्थापना गरिएको हो ।

Exception thrown

Template 'templates/form/web/widgets/#type.html' not found !