सुन्दर जुम्लाको नकारात्मक चित्रण

रवीन्द्र तिमसेना

कुनै पनि सुन्दर चिजलाई धेरै पटकसम्म नकारात्मक ढंगले चित्रण गर्ने हो र त्यसलाई बहुसंख्यकले स्वीकार गर्ने हो भने त्यो सुन्दर चिजप्रतिको हाम्रो बुझाइ पनि नकारात्मक नै हुन्छ । प्रसंग कर्णाली अञ्चलस्थित विकट पहाडी जिल्ला जुम्लाको भौगोलिक विकटता, गरिवी र शैक्षिक स्तरलाई लिएर गरिने नकारात्मक टिका टिप्पणीको हो ।
सवै कुराका सकारात्मक र नकारात्मक पाटाहरु हुन्छन् । नकारात्मक पाटाहरुको मात्र उजागर गरिँदै आएकाले जुम्लाप्रतिको सर्वसाधारणको बुझाइ नकारात्मक हुन गएको हो भन्दा अत्युक्ति हुँदैन । जुम्ला पुग्नुअगाडिसम्म पंक्तिकारको जुम्लाबारेको बुझाइ पनि आममानिसको जस्तै थियो । तर करिब दुई हप्ताको जुम्ला बसाइँका क्रममा यी सवै भ्रमहरु निवारण भएका छन् । शायद जुम्ला बसाइँको एउटा महत्वपूर्ण उपलव्धी यो पनि हो । नेपाल सोसियल बिजनेसले लगानी गर्न लागेका परियोजनाहरुको तयारीका लागि जुम्ला पुग्ने क्रममा यस्तो अवसर जुटेको हो ।
वास्तवमा जुम्ला जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । यहाँका प्राकृतिक छटाहरुको वर्णन शव्दले गर्न सम्भव छैन । गर्मीको समयमा पनि शीतलता प्रदान गर्नु जुम्लाको खूवी हो । मौसम अनुसार रङ फेर्ने जुम्लाको स्वभाव हो । हिउँदमा हिउँ परेर सेताम्य हुनु, वर्षायाममा हरियाली हुनु र शिशिरयाममा रंगहीन हुनु जुुम्लाको अद्भूत कला हो । शायदै, विश्वको कुनै ठाउँले जुम्लाको प्रतिनिधित्व गर्न सक्ला । तिला नदीको काखमा रहेको जुम्ला सदरमुकाम खलंगा बजारले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँछ ।
जुम्ला मात्र नभएर समग्र कर्णाली अञ्चलकै सदरमुकामका रुपमा रहेको खलंगाको मुटुमै अवस्थित चन्दननाथ र भैरवनाथ मन्दिर धार्मिक आस्थाका केन्द्र हुन् । यी मन्दिरहरुले धार्मिक मात्र नभएर पर्यटकीय महत्व पनि बोकेका छन् । खलंगा बजारबाट केही उत्तरमा रहेको कर्णाली प्राविधिक शिक्षालय प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि शैक्षिक मन्दिर त हो नै, जुम्ला पुगेका पर्यटक नगई नहुने गन्तव्यस्थल पनि हो । नेपाली भाषाको उद्गम सिंजा क्षेत्र पनि यसै जिल्लामा पर्ने भएकाले यसको आफ्नै ऐतिहासिक महत्व पनि छ । दुर्लभ जडिबुटी यार्सागुम्बा पनि जुम्लामा पाइन्छ । सिजनमा जुम्लाबासीले यार्सागुम्बा बेचेरै आम्दानी गर्न सक्छन् ।
नेपालको सवैभन्दा उचाईमा धान फल्ने जिल्ला पनि जुम्ला हो । बहुचर्चित जुम्ली मार्सी चामलको भात निकै नै स्वादिलो हुन्छ । जुम्ला जाने पर्यटकको रोजाईमा यही चामलको भात पर्छ । जुम्ली मार्सीको भातलाई अझ बढी रुचाउन सघाउने भएकाले स्थानीय सिमीको दाल सवैले मन पराउँछन् । बाहिरबाट जानेहरुका लागि स्याउका बगैँचाले आकर्षण थपिदिन्छन् । जुम्लामा फल्ने थरीथरी जातका स्याउले मुख रसाउँछ । हुन सक्छ, यही कारणले नै स्याउ व्यापारीहरु अरु ठाउँको स्याउलाई पनि जुम्लाको भनेर बेच्छन् । जहाँकहीँ उत्पादन नहुने भएकाले लटरम्म फलेका ओखरका बोटले पनि बाहिरबाट जानेलाई रोमाञ्चित बनाउँदछन् । अर्गानिक जिल्लाका रुपमा घोषित जुम्ला आफूकहाँ आउने पर्यटकलाई अर्गानिक खुराँक खुवाउन सक्षम छ ।
विभिन्न विमान कम्पनीहरुले बेलाबेलामा उडान भर्ने भएकाले क्रय शक्ति हुनेहरुका लागि जुम्ला जान कठिनाइ हुने त कुरै भएन, सुर्खेत—जुम्ला जोड्ने कर्णाली लोकमार्गको कालोपत्रेको काम सकिनै आँटेकाले महंगो हवाई यात्राको विकल्प पाएका छन् जुम्लाबासी र जुम्ला जाने मध्यम वर्गीय पर्यटकले पनि । कठिन भौगोलिक अवस्थाका कारण स्वभाविक लाग्ने ‘दुर्गम’ को पगरी गुथेको जुम्ला अब सुगम जस्तै भइसकेको छ । जुम्ला जान चाहेर पनि जान नसकेका मानिसले अब जुम्लाको भौगोलिक विकटतालाई दोष दिनुपर्दैन ।
द्वन्द्वकालमा खलंगा बजारमा भएको युद्धमा धेरै धनजनको क्षति भयो । जसले गर्दा विकास पथमा लम्किने क्रममा जुम्लालाई अर्को एउटा ठेस लाग्यो । तर द्वन्द्वको पीडाले चर्केको छाती छामेर होइन, पाठ सिकेर अघि बढ्दैछ जुम्ला । जुम्लावासीको मुस्कानमा यही पढ्न सकिन्छ । भौगोलिक विकटताका कारण जुम्लामा विकासका पूर्वाधारहरु बन्न सकेनन् । अझ भनौँ, राज्यले पर्याप्त ध्यान दिन सकेन । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, यातायात खानेपानी जस्ता विकासका पूर्वाधारहरुको कमीका कारण आधुनिक सभ्यताको दौडमा जुम्लावासीले सुगम स्थानसँग प्रतिस्पर्धा गर्न नसकेको कुरा साँचो हो । यसै कारणले गर्दा जुम्लाको विकासका लागि भन्दै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले जुम्लामा आफ्नो उपस्थिति जनाएका छन् । यस्ता संस्थाहरुबाट प्राप्त सहयोगले जुम्लामा पर्याप्त योगदान पुगेको छ वा छैन भन्ने कुरा खोज अनुसन्धानको विषय बन्न सक्ला । तर यसरी सहयोग आउँदै जाँदा परनिर्भर बन्दै गएको आक्षेप पनि जुम्लावासीलाई लाग्ने गरेको छ । यो अर्को नकारात्मक चित्रणलाई चिर्नका लागि जुम्लावासीले प्रयास गरेका छन् र परिस्थिति हिजोभन्दा फरक बन्दै गएको पनि छ ।
आर्थिक दिगोपनासँगै व्यवसायिक सिद्धान्त लागू गरेर सकारात्मक सामाजिक प्रभाव पार्ने कुरामा नेपाल सोसियल बिजनेसको अभियानले पनि यसमा मलजल गरेको छ । आफ्ना निम्ति आफैले गर्न जुम्लावासीले थालेको प्रयास कुनै दिन सार्थक निष्कर्षमा पुग्नेछ । जंगलको कस्तुरीले आफ्नै नाभीबाट आएको वासना थाहा नपाएर वासनाको स्रोत पत्ता लगाउन जंगल जंगल चहारेजस्तो गरी अलमलिनुहुँदैन भन्नेमा अब जुम्लावासीहरु सजग भइसकेका छन् । अब छिटै नै फेरिँदैछ जुम्ला र फेरिँदैछ जुम्लावासीको नकारात्मक चित्रण ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *